क्यान्सरपछि पनि सुन्दर जीवन: गागलफेदीमा ५२ क्यान्सर सर्भाइभरहरूको प्रेरणादायी बनभोज कार्यक्रम
“क्यान्सरपछि पनि जीवन सुन्दर छ, र त्यसलाई अझ खुसी र अर्थपूर्ण बनाउँदै अघि बढ्नुपर्छ” भन्ने सशक्त सन्देशका साथ नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा कागेश्वोरी मरोहरा–गागलफेदीमा विशेष बनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ५२ जना क्यान्सर सर्भाइभरहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले जीवनप्रतिको सकारात्मक सोच, आपसी सहयोग र प्रेरणालाई अझ बलियो बनाएको छ।
कार्यक्रमको संयोजन गर्नु भएका आदरणीय क्यान्सर फाइटर तथा साइकल यात्री धुर्ब प्रसाद हुमागाईज्यूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ। उहाँको नेतृत्व र प्रेरणाले सहभागी सबै क्यान्सर योद्धाहरूलाई नयाँ ऊर्जा र हौसला प्रदान गरेको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण क्यान्सर सर्भाइभरहरूलाई पनि विशेष धन्यवाद, जसले आफ्नो साहसिक यात्रा साझा गर्दै आशा, आत्मबल र जीवनप्रेमको सन्देश फैलाउनु भएको छ।
यस्ता कार्यक्रमहरूले क्यान्सर सर्भाइभर समुदायबीच एकता, आत्मविश्वास र खुसी बाँड्ने अवसर सिर्जना गर्नुका साथै समाजमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।